Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेटुवा समुदायलाई छैन दशैंको रौनक

नेटुवा समुदायलाई छैन दशैंको रौनक

  • सोमवार, आश्विन १७ २०७९

  • 399
    SHARES

  • नेटुवा समुदायलाई छैन दशैंको रौनक

    कपिलवस्तु । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर ।

    यी नेटुवा जाति दशकौंदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व बडादशैंको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैंको उल्लास छैन । 

    मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । सो समुदायमा बडादशैंको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन ।

    उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैं आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताउनुहुन्छ । सधैं एक छाक कसरी खाने भन्ने पिरलोमा रहनुभएका उहाँ भन्नुहुन्छ, ‘एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैं आउनु ।’ दशैं कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उहाँको छ । उहाँ भन्नुहुन्छ, ‘हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौं ।’ सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उहाँ भन्नुहुन्छ, ‘राज्यले अझै सुनेको छैन ।’

    यही माग लिएर तीन पटक सिंहदरबार धाएको उहाँले सुनाउनुभयो । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उहाँ बताउनुहुन्छ । पैंतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरुलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाउनुभयो । न गाँस, न बाँस, न जग्गा जमिन उहाँले भन्नुभयो, ‘हामी सबैभन्दा पीडित छौं, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।’

    निरास मुद्रामा उहाँ भन्नुहुन्छ, ‘गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा ।’ थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उहाँ दाबी गर्नुहुन्छ । ‘हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो’, उहाँ भन्नुहुन्छ, ‘हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा ।’ पथ्थरकट्टालाई राज्यले अल्पसङ्ख्यकको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको छ तर हामीलाई दिएन उहाँ भन्नुहुन्छ, ‘सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन् उहाँले प्रश्न गर्नुभयो”, “राज्यले भत्ता दिए दशैँ पर्व राम्रो मानिन्छ ।’

    दशैंमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन् । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास रहेको छ ।  


    सोमवार, आश्विन १७ २०७९०८:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij