मुक्ति न्यौपाने, पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–३, श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–७, रहबास घर भइ माइत गएकी २९ वर्षीया समीक्षा सोमै चौहानको ढुङ्गाले लागेर मृत्यु भएको हो । मृतककी तीन वर्षीया छोरी करिष्मा गम्भीर घाइते जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
मंगलबार बेलुकी श्रीडाँडास्थित घरमा मोबाइल चार्ज गरेर बसेका आमा–छोरीलाई घरमाथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका थिए । उनीहरुलाई लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा आमा समीक्षाको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी नातिनी करिष्माको उपचार भइरहेको छ । श्रीडाँडाको माथिल्लो भागमा सिद्धार्थ मिनिरल्स प्रालिको चुनढुंगा खानी रहेको छ । खानीबाट जथाभावी ढुंगा, माटो र डेब्रिज फाल्ने गरेकाले वर्षाको समयमा ढुंगा खस्ने गरेको स्थानीयले बताए ।