काठमाडौं । क्षयरोग निवारण संस्था विराटनगरमा उपचारका लागि भर्ना भएका दुई जना कैदी फरार भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । प्रदेश १ प्रहरी कार्यालयले छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो ।
छानबिन समितिलाई घटना सम्बन्धमा वास्तविक के भएको हो, स्थलगत रुपामा खटी गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ आज बिहान फरार भएका थिए । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो ।
क्षयरोग लागेपछि उनीहरू भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरू शनिबार(आज) बिहानै फरार भएका थिए । प्रहरीले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन गर्ने भएको छ ।