काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय स्थापना गरिएको छ। काठमाडौंको मैतीदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो संग्रहालयको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार(आज) उद्घाटन गर्नुभएको छ ।
उक्त अवसरमा उहाँले सो संग्रहालय राज्यका लागि ठुलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सो संग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गर्नुभयो । करिब ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो संग्रहालय दसैँ सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ।
संग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो। त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरू, उहाँका तस्बिरहरू पनि संग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ।