काठमाडौं । मनास्लु हिमालमा बेपत्ता भएकी विश्व प्रख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् ।
अहिले नेल्सनको शव काठमाडौं पठाइएको छ । केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो ।
मनास्लु हिमालको शिखर नजिकै नेल्सनको शव फेला परेको प्रहरीले जनाएको छ । शव सामागाउँ ल्याएर प्रारम्भिक काम सकी काठमाडौं पठाएको प्रहरीले जनाएको छ।
सोमबार स्की गर्ने क्रममा ४९ वर्षीय नेल्सन मनास्लु हिमालको शिखरबाट चिप्लिएर करिब ५० मिटर तल खसेकी थिइन् । हिउँले ढाकेको अवस्थामा नेल्सनको शव भेटिएको प्रहरीले जनाएको छ । आरोहणका लागि पुगेका गाइडहरूले शवको उद्धार गरेका थिए ।
उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए ।
नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।