काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दी (लकडाउन)को पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।
सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।
दैनिक ५ सय यात्रु नकट्नेगरी नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।
नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् । नेपालबाट भने २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् ।
कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएका छन् भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ ।