काठमाडौं । रौतहटका पुराना पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । ४७ वर्षीय मण्डलको गएराति जिल्ला अस्पताल गौरमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ रौतहटका पूर्वसचिव मण्डलले राजधानी दैनिकसहितका सञ्चारमाध्यममा काम गर्नुभएको थियो । हाल भने उहाँ सक्रिय पत्रकारितामा हुनुहुन्थेन । रौतहटको दुर्गा भगवती–३ मत्सरी निवासी मण्डल ३ वर्षदेखि बिरामी हुनुहुन्थ्यो ।
तीन वर्षअघि काठमाडौंबाट फर्किने क्रममा बस दुर्घटनामा परेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । विभिन्न ठाउँमा उपचार गर्दा पनि ठीक नभएपछि उहाँ केही समययता घरमै हुनुहुन्थ्यो
अवस्था गम्भीर बनेपछि केही दिनअघि परिवारका सदस्यले उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । मण्डलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।