काठमाडौं । संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबार(आज) सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
दसैँ, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।
बैठकले दसैँका लागि घर जाने यात्रुहरूको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरूको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।
समितिले सवारी साधनको भाडादर जथाभाबी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्ने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ। शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति पन्थले बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरूले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए। सांसद एवम् पूर्वगृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरूमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
समितिकी अर्का सदस्य नन्दा चपाईंले सवारी दुर्घटनाबाट नागरिकको जीवन जोगाउनका लागि सरकारले गाडी चालकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले दण्ड र जरिवानाले मात्रै सवारी साधनलाई दुर्घटना हुनबाट जोगाउन नसकिनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
समितिका सदस्यहरूले कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।