काठमाडौं । काठमाडौंबाट धनगढीको लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाजले आज धनगढीको आकाशमा एक चक्कर लगायो । जहाज अवतरण गर्ने अन्तिम तयारीमा थियो । तर, पाइलटलाई टावरबाट तत्काल अवतरण नगर्न भनियो । पाइलटले त्यही अनुसार जहाजलाई एक फन्को मारे ।
११ः५५ मा काठमाडौंबाट धनगढी उडेको जहाजले १२ः५५ मा अवतरण गर्दा धावन मार्गमा स्याल देखिएको थियो । त्यसपछि जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले धावन मार्गमा एक्कासि स्याल छिरेकाले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।