Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज इन्द्रजात्रा , कोरोना महामारीले पर्वको रौनकतामा कमी

आज इन्द्रजात्रा , कोरोना महामारीले पर्वको रौनकतामा कमी

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.3K
    SHARES

  • आज इन्द्रजात्रा , कोरोना महामारीले पर्वको रौनकतामा कमी

    काठमाडौं। वर्षा र सहकालका देवता इन्द्रको पूजा(आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यका, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

    यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ।

    पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    यसपाली भने कोरोना महामारीको असर हाम्रा अन्य सामाजिक तथा सांस्कृतिक परम्परालाई परेजस्तै इन्द्रजात्रा पनि अछुतो छैन। संक्रमणको जोखिम र निषेधाज्ञाका कारण इन्द्रजात्रा पर्वको रौनक छैन। इन्द्रजात्राको दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ।

     


    मंगलवार, भाद्र १६ २०७७०७:१७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij