काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गर्नुभएको हो ।
बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ । त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गर्नुभएको हो ।
यस्तै, बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । उहाँको घोषणा कार्यान्वयन हुन प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन आवश्यक हुन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला गएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरू दार्चुला गएका हुन् ।
दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । आठजना घाइते भएका छन् ।