काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।
भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो।
काम छ भन्दै एकान्तमा बोलाएर जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ । ती किशोरी सुखड बजारको हेलिप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले जनाएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको देखेपछि प्रहरीले उपचारका लागि अस्पताल लगेको प्रनाउ शाहीले जानकारी दिनुभयो ।
बलात्कृत किशोरीले आज (शुक्रबार) बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभएको छ ।