काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किनुभएको छ ।
सेनाध्यक्ष पाण्डे र उहाँकी पत्नी अर्चनालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उहाँकी श्रीमती मनिषा कार्कीले बिदाइ गर्नुभएको छ ।
नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार पाण्डेलाई २० भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो । २० गते नै पाण्डेको सम्मानमा प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्नुभएको थियो ।
भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस्तै उहाँले जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मसँग औपचारिक भेटवार्ता गर्नुभयो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
पाण्डेले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गर्नुभएको थियो ।