काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान दिने भएको छ ।
त्यस्ता किसानलाई जनही दश हजार रुपैयाँ अनुदान दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।
अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने योजनासमेत बनाएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि नै आर्थिक समृद्धिको मुख्य आधार भएकाले गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको पनि जानकारी दिनुभयो ।