काठमाडौं । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका १ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका ३ वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो ।
शारदा नगरपालिका १ श्रीनगरस्थित घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि बस्नेतले ट्रक चलाएर अगाडि बढाउने क्रममा एक्कासी ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले च्यापेको थियो ।
टायरले च्यापेर गम्भीर घाइते भएका बालक भण्डारीको स्थानीय परोपकार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।
बालकको शव अहिले परोपकार अस्पतालमै राखिएको र चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खनालले बताउनुभयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।