बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-८ शम्शेरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान रोकिराखेको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा चालक राप्तीसोनारी गाउँपालिका-१ कुसुमका चेवन देवकोटाको मृत्यु भएको हो।
कुसुमकै धनीराम खड्काका तीन वर्षीय छोरा लीलाधर खड्कालाई गए राति सर्पले डसेपछि उपचारका लागि मोटरसाइकलमा नेपालगञ्ज लैजाँदै गर्दा बिहान ४ बजे शम्सेरगन्जस्थित सशस्त्र प्रहरीको चेकपोस्ट नजिकै रोकिराखेको ना ४ ख २१३९ नम्बरको ट्रकमा ठोक्किन पुगेको थियो।
चालक देवकोटाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। देवकोटा कुसुमस्थित महाराजा मा.बि. मा शिक्षक थिए। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच सर्पले डसेर गम्भिर अवस्थामा रहेका बालक खड्काको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बच्चाकी आमा कौशिला खड्काको अवस्था गम्भीर छ। उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।