काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो साँझ भेटवार्ता भएको छ । भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको छ।
प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताएको न्यौपानेले जानकारी दिनुभयो ।