काठमाडौं– चितवनस्थित नारायणी नदीको पुलमा स्कुटर रोकेर एक पुरुषले नदीमा हामफालेका छन्। आइतबार (आज) साँझ ५ बजेतिर पुल माथिबाट १ पुरुषले नदीमा हामफालेका हुन्।
बागमती प्रदेश ०३–०३ प ५९२६ नम्बरको स्कुटरमा सवार पुरुषले स्कुटर पुलको बीचमा रोकेर पुलमाथिबाट हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो।
नदीमा हामफालेका पुरुष अन्दाजी ३० वर्षका रहेको बुझिएको छ । ती पुरुषको थप पहिचान खुल्न नसकेको एसपी अधिकारीको भनाइ छ।
पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, अहिलेसम्म फेला परेका छैनन्।
एसपी अधिकारीका अनुसार ती पुरुषले हेल्मेटसहित नदीमा हाम फालेका थिए।