काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ ।
दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि कतै फोहोर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गर्नुभयो । यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीनसय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ ।
यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहोरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ । केही दिनअघि कामपाका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । प्रमुख साहको निर्देशन अनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन भएको हो ।
कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविक बमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।