काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले तीन संस्थाहरूलाई सम्मान गर्ने भएको छ । शनिबार(आज) बसेको कोषको साधारण सभाले पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
संस्थालाई दिगो र सबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कोषका अध्यक्ष तथा संरक्षक विष्णुप्रसाद गौतम र लक्ष्मी गौतमलाई २ लाख सहितको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार, २०७९ र सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै अमोर सेवा नेपाल संस्था फेदीखोला, स्याङ्जामा स्थापना गरी त्यसअन्तर्गतको बालघरमार्फत अनाथ, असहाय, अपाङ्ग र द्वन्द्वपीडित र बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य सुविधा उपलब्ध गराउन योगदान पु¥याएको भन्दै एक लाख सहित रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार २०७९ र सम्मान–पत्र कोषका संस्थापक कमला पराजुलीलाई प्रदान गर्ने कोषले जनाएको छ ।
यसैगरी एक लाख सहित रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार २०७९ र सम्मान–पत्र कोषका संस्थापक तथा अध्यक्ष शिवराज (अर्पण) पराजुलीलाई प्रदान गर्ने कोषका अध्यक्ष ध्रुव नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत जनाइएको छ । उहाँले मामाघर नेपाल, हेटौंडा, मकवानपुरले सडक बालकलाई सम्मानित जीवनमा फर्काई आश्रय साथै शिक्षा, स्वास्थ्य र क्षमता विकासको अवसर प्रदान गरी अन्योलपूर्ण भविष्यबाट सभ्य र व्यवस्थित जीवनयापन गर्नेतर्फ लैजान तथा संस्थालाई दिगो र सबल बनाउन पहल गरेको भन्दै सम्मान गरिने कोषले जनाएको छ ।
रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्न थालेको छ ।
पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनौट गर्न गेहनाथ गौतमको संयोजकत्वमा चण्डेश्वर आचार्य, भूपनाथ शर्मा, सुवर्णकुमार कर्माचार्य तथा धीर भण्डारी सदस्य रहनुभएको पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो ।


