काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समूहले गोली हानेर शुक्रबार(आज) दिउँसो एक जनाको हत्या गरेको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५० वर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको उपचारका लागि सदरमुकाम तौलिहवास्थित अस्पताल ल्याउँदै गर्दा दिउँसो ४ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नचिनेका व्यक्तिले उक्त गाउँपालिकाको वडा ६ महादेवामा बोलाएर एक जनाको खाली घरको पछाडि पट्टी लगेर गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेम बस्नेतले बताउनुभयो । उनको शव तौलिहवा अस्पतालमा राखिएको छ ।