काठमाडौं । दार्चुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का पुने बोहरा, उज्ज्वल बोहरा, हिकमत जागरी, राइभान बोहरा र दम्कादेवी बोहरा रहेका छन् ।
शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा बुधबार(आज) अपराह्न ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
बझाङका सबै जना भारतको पिथौरागढ उपचारका लागि जान आएको भन्ने बुझिएको दार्चुलाका प्रहरी डिएसपी प्रतीक विष्टले बताउनुभएको छ। प्रहरीका अनुसार घाइते हुने मालिकार्जुन गाउँपालिका–३ का ५० वर्षीय गोमतीदेवी धामी, ३० वर्षीय गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीय रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीय रेवती धामी, महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार, महाकाली नगरपालिका–७ का २५ वर्षीय लीलाराम कोली, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना र बझाङ बुङ्गल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी घाइते भएका छन् । उनीहरूमध्ये ३ जना सख्त घाइते रहेका छन् ।
घाइतेहरूको गोकुलेश्वर प्रहरी चौकी, मालिकार्जुन चौकीका प्रहरी र स्थानीय उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।