काठमाडौं । एक व्यक्तिको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दाजुभाइलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाराको विश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र उनका दाजु ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको हो ।
साउन २४ गते राति ९ बजेतिर विश्रामपुर–५ इटियाहीका २३ वर्षीय राजकुमार ठाकुर ट्युसन पढ्न गएका बेला अपहरणमा परेका थिए । वीरगञ्जको नगवातर्फ साइकलमा गएका बेला उनी सम्पर्कविहीन भएपछि आफन्तले प्रहरीकोमा खबर गरेका थिए । त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले ठाकुर अपहरणमा परेको तथ्य भेट्टाएको थियो ।
ठाकुरको पटेलका बहिनीसँग प्रेम सम्बन्ध रहेको शंकामा अपहरण गरी हत्या गरिएको खुलेको पर्सा प्रहरीका प्रवक्ता प्रल्हाद कार्कीले बताउनुभयो ।
उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।
उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेसनमा पुर्याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए । त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध अपहरण, शरीरबन्धक र कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।