काठमाडौं । हिन्दु नेपालीहरूका महान पर्वको आगमन शुरु भएको छ । आज जनैपूर्णिमा, गाइजात्रा पर्व मुलुकभर विशेष पूजाआजा गरी मनाइएको छ । लगत्तै हरितालिका तीजको आगमन हुँदैछ । क्रमशः गौरा पर्व हुँदै महान पर्व विजया दशमीको आगमन हुन्छ ।
विविध भाषा, धर्म, संस्कृतिले भरिएको मुलुकमा विभिन्न रितिरिवाज, चालचलन र भेषभुषाका बोकेका मानिसहरूको बसोबास छ । दसैँ पूर्व विभिन्न समुदायका आआफ्ना पर्वको आगमन हुने गर्दछ । नेपालीहरूले मनाउने हरेक पर्वको आआफ्नै महत्त्व रहेको छ । सुख, शान्ति र समृद्धिको कामनासहित मनाइने पर्वमा फलको आशा गरिएको हुन्छ भने मनमा कान्ती समेत हुने गर्दछ । आज जनैपूर्णिमा देशैभर मनाइएको छ । शास्त्रीय मान्यताअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको छ ।
वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्त्व रहँदै आएको छ । विशेषगरी वैदिक विधिअनुसार शास्त्रीय नियममा रहेर बनाइएको जनै धारणगरी रक्षा बन्धन लगाएमा विभिन्न प्रकारका बन्धनबाट मुक्त हुनुका साथै सम्पूर्ण समस्या हट्ने शास्त्रमा व्याख्या गरिएको छ ।
जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’ रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने पनि चलन छ । वैदिक परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको छ । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् । संस्कृतिविद् रामचन्द्र गौतमका अनुसार वर्षभरी जनै नफेरेका, हराएकाहरूले आजको दिनमा ब्राह्मणले मन्त्र फुकेका जनै पहिरिँदा सबै गल्ती माफ हुने धार्मिक विश्वास छ ।
वर्षभरी दुर्घटनाको भय हुने, घाउ चोटपटक लाग्ने वा विपत्ति आउनबाट बच्न शरीरको रक्षाको लागि रक्षा बाँध्ने चलन रहेको गौतम बताउनु हुन्छ ।
यसैदिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइका दाहिने हातका नाडिमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको रक्षा लगाएका छन् । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेशलगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।