काठमाडौं । बझाङको बुंगल नगरपालिका –९ रारुमा एकै परिवारका तीन जनाको गएराति शंकास्पद मृत्यु भएको छ । एकै परिवारका २३ वर्षीय गीता पार्की, छोरी ५ वर्षीय भूमिका पार्की र छोरा ३ वर्षे महेश पार्की शंकास्पद तरिकाले मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो ।
घटना शंकास्पद देखिएकाले अनुसन्धानविना अहिले नै बताउन नसकिने उहाँको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
गीता पार्कीका श्रीमान् गए राती मात्र भारतबाट घर आएको स्थानीयको भनाइ छ । सोही राती नै घटना भएकोले पारिवारिक विवादले सो घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको अवस्थीले बताउनुभयो ।
स्थानीय प्रहरीले घटनास्थल सिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ ।
मृत भेटिएकी महिलाका श्रीमान् पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन् । उनी मंगलबारमात्रै भारतको पिथौरागढबाट घर आएका थिए ।
‘म त थाकेको थिएँ, निदाइहालेँ’, उनको भनाइ उद्धृत गर्दै वडाध्यक्ष हरिशबहादुर सिंहले भने, ‘बिहान छिमेकीले श्रीमती खोइ भनेपछि खोजी गरेका हौं ।’ घाँस काट्न गएकी स्थानीय महिलाले झुण्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो ।