काठमाडौं । पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
उक्त रोगका कारण नगरका तीन ठाउँका फार्ममा ६ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नम्बर ५ स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नम्बर १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्याएको हो ।
शाखा प्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो ।
विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ ।
शाखा प्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ ।
नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलान्चोकको पनौतीमा पनि देखिएको हो ।