मोरङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट बिहीबार बिहान जिल्लाको सुन्दरहरैचा नगरपालिका–६ स्थित पुर्वपश्चिम राजमार्गमा साइकलमा सवार एक जनाको मृत्यु भएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट सोही स्थानका साइकल चालक २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर बहादुर श्रेष्ठ र मोटरसाइकल चालक बारा सिमरा-८का ४५ वर्षीय राजकुमार पुलामी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले जनाएअनुसार साइकल पछाडि सवार डम्बर बहादुर श्रेष्ठको पौने १२ बजे मृत्यु भएको हो ।
साइकल चालक नवराज बराइलीको अवस्था पनि गम्भीर छ भने मोटरसाइकल चालक पुलामीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले साइकल र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।