काठमाडौं । सरकारले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ । भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ सेवा सुचारु गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकमा समेत परीक्षणका लागि भएपनि केही निश्चित स्थानमा हवाई सेवा सञ्चालन गर्नुपर्ने कुरा उठेको थियो । यद्यपि, मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको वा नगरेको भन्ने विषयमा औपचारिक जानकारी भने गराइएको छैन ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरुमा हिमाली तथा पहाडी क्षेत्रमा आन्तरिक विमान सञ्चालन गर्न सकिने विषयमा छलफल भएको बताउनुभयो । सरकारले निर्णय गरेमा नागरिक उड्डयन प्राधिकरण र निजी क्षेत्र पनि सञ्चालनको तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
आन्तरिक उडानका लागि पनि नागरिक उड्डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ । मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो ।
तराईका क्षेत्रमा भने तत्काल हवाई सेवा सुरु गर्न नहुने निष्कर्षमा मन्त्रालय रहेको बताइएको छ ।