काठमाडौं । नेपालको हवाई क्षेत्रको अग्रणी कम्पनी बुद्ध एअरका जहाजमा बेला–बेला समस्या आइरहेको छ । कहिले इञ्जिन नचल्ने त कहिले पांग्रा नखुल्ने बुद्ध एअरका जहाजमा दिनानुदिन समस्या देखिन थालेको छ ।
केही समय अगाडि आकाशमा उडिरहेको बुद्धको जहाजको पांग्रा नखुलेपछि यात्रुहरुको चिच्याहट भएको थियो तर अनुभवी पाइलटले उक्त विमानलाई सहजै अवतरण गराएका थिए । बिडम्बना उनै पाइलटमाथि दोष थुपार्ने काम भयो । बुद्ध एअरका यस्ता जहाजले नेपालको हवाइ क्षेत्रलाई त गिज्याएको छ नै यसले यात्रुहरुमाथि जोखिम समेत बढेको छ ।
२९ जुलाइ २०२२ मा ८ः२० बजे भैरहवाबाट काठमाडौं उडेको बुद्ध एअरको जहाजको अवस्था हेर्दा लाग्थ्यो साच्चै यी जहाज जीर्ण भइसकेछन् । आकाशे पानी आएपछि ओत समेत दिन नसक्ने जहाजमा यात्रुहरुले कति जोखिम मोलेर यात्रा गर्नु परिरहेको होला सहजै अनुमान गर्न सकिन्छ ।

नेपालको हवाइ क्षेत्रबारे अडिट गर्न युरोपेली युनियन (इयू)को टोली नेपाल आउने भनिरहेका बेला यहाँका जहाजहरुमा ओत लाग्न कपासले टाल्नुपर्ने भएको छ । पटकपटक इयुले कालोसूचीमा राख्ने नेपालको हवाइ क्षेत्रलाई यस्ता ससाना समस्याले समेत गिज्याएको छ ।
जहाजभित्र हावा पसेपछि दुर्घटनाको भय हुन्छ तर बुद्ध एअरका जहाज भने यस्तो मामिलामा निर्वाध उडान भरिरहेका छन् । नेपाली रेडियो नेटवर्कले बुद्ध एअरका जहाजको अवस्था र सुधार्नुपर्ने पक्षका बारेमा खोजमुलक सामाग्री पनि तयार पारिरहेको छ ।
