काठमाडौं । सेफर्ड कलेजकी प्रिन्सीपल कविता शर्मालाई नागरिक सम्मान–२०७९ प्रदान गरिएको छ । पत्रकारिता र प्रविधिको पढाइ हुने कलेजको नेतृत्व गर्दै आएकी शर्मालाई सञ्चार, प्रविधि र शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै सम्मान गरिएको हो ।
काठमाडौको मध्यबानेश्वरमा रहेको कलेजमा पत्रकारिता र सूचना तथा प्रविधिको पढाइ हुने गरेको छ ।
धेरै सञ्चारकर्मीहरुले यही कलेजमा अध्ययन गरेका छन् । सञ्चारकर्मी एवं शिक्षाकर्मी शर्मालाई नागरिकपोष्ट डट कमको आठौं वार्षिक उत्सवको अवसरमा वरिष्ठ पत्रकार भैरव रिसालले सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।
उहाँ दक्षिण एसियामै महिलाले मात्रै सञ्चालन गरेको पहिलो एफएम रेडियो मुक्तिकी संस्थापक अध्यक्ष समेत हुन् । संचार, सूचना प्रविधि र शिक्षा क्षेत्रसँगै महिला, बालबालिका र अपाङ्गताको क्षेत्रमा पनि विषेश योगदान दिदै आएकी शर्मा स्पेसल केयर फाउन्डेसनकी संस्थापक अध्यक्ष भएर समेत काम गरिरहेकी छिन् ।