नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका तलाबाज पराजित हुन पुगेको छ । आज बिहान सम्पन्न क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा जमैकाले बर्बाडोस ट्राइडेन्ससंग तेस्रो हार बेहोरेको हो । ट्रिनिडाड एण्ड टोबेगामा आज (बिहीबार) भएको खेलमा जमैकाले बलिङमा राम्रो पदर्शन गरे पनि ब्याटिङमा चुक्दा पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित भएको छ।
सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रनको योगफल तयार पारेको थियो । जमैकाका मुजिद उर रेहमानले ३ तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे । सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी छ।
१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । जमैकाका लागि बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो । सन्दीप ४ रनमा नटआउट रहे । सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक सहित पाँचौ स्थानमा छ ।