काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने बताउनुभएको छ ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा उहाँले गत वर्ष ५ अर्बको बिजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्ने बताउनुभयो ।
उहाँले विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले उद्योगमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठुलो मुद्दा बनाउने काम भइरहेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
उद्योगहरूले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै घिसिङले त्यसका लागि प्रसारण लाइन र सबस्टेशनमा लगानी बढाइरहेको बताउनुभयो ।
उहाँले विद्युतीय सवारी साधन चलाउँदा एक किलोमिटरमा एक रुपैयाँ पनि खर्च नहुने तर पेट्रोल डिजेलमा २० रुपैयाँ भाडा रहेको भन्दै विद्युतीय सवारी धेरै किफायती भएको दाबी गर्नुभयो ।