काठमाडौं । नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिट गर्न नेपाल आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउनेबारे पत्राचार भएको जानकारी दिनुभयो । यस्तो पत्राचार शुक्रबार प्राप्त भएको र यो नेपालका लागि ठुलो अवसर भएको उहाँले बताउनुभयो ।
ईयू नेपालमाविना सर्त अडिट गर्न आउन तयार भएको भन्दै नेपाल अधिकतम तयारीका साथ प्रस्तुत हुने उहाँले बताउनुभयो ।
यसअघि यसै वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मूल्याङ्कनमा नेपालले औसत भन्दा राम्रो नतिजा ल्याएको र यो ईयूको हकमा समेत सहयोगी हुने उहाँले बताउनुभयो ।