Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज साउन १५, खीर खाने दिन, कसरी पकाउने मिठो खीर ?

आज साउन १५, खीर खाने दिन, कसरी पकाउने मिठो खीर ?

  • आइतवार, श्रावण १५ २०७९

  • 1.5K
    SHARES

  • आज साउन १५, खीर खाने दिन, कसरी पकाउने मिठो खीर ?

    काठमाडौं । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

    साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मर-मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

    संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

    साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।

    साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । तर यसको कुनै शास्त्रीय वचन भने छैन।

    ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्।

    चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ। सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ।

    नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ। नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ।

    दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ।


    आइतवार, श्रावण १५ २०७९०६:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij