Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फूलप्रसादसहित बडिमालिका हिँड्यो सरकारी डोल

फूलप्रसादसहित बडिमालिका हिँड्यो सरकारी डोल

  • शनिवार, श्रावण १४ २०७९

  • 586
    SHARES

  • फूलप्रसादसहित बडिमालिका हिँड्यो सरकारी डोल
    काठमाडौं । सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूल–प्रसादसहितको एक सरकारी डोल (पेटारो) पठाइएको छ । जनैपूर्णिमा अर्थात् यही साउन २७ गतेका दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको उक्त सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो । 
     
    सिलगढीमा रहेको भैरवप्रसाद गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालयको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।
     
    राणा शासनकालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत् रुपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहेअनुसार उक्त डोल पठाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो। 
     
    उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन रहेको छ ।
     
    सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण जनैपूर्णिमामा उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले बताउनुभएको छ । 
     
    बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्न लाम लागेर बस्ने गर्दछन् । पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञ कुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतीदेवीको अंगपतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको छ


    शनिवार, श्रावण १४ २०७९०१:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij