काठमाडौं । उमा महेश्वर सहित दुवोको पूजा गरेर आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ। भाद्र शुक्ल अष्टमीका दिन मनाइने यो पर्व विषेश गरी नेपालको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा मनाइन्छ।
भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनु भएको छ । यस वर्ष १९ भदौमा अगस्त्य उदय हुनेछ।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलोपटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरू गर्नुपर्ने व्रत विधान छ।
कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ।
गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। पछिल्ला वर्षमा राजधानीमा पनि सुदूर पश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ।
यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण घर(घरमै पर्व मनाउनुपर्ने अवस्था छ। सरकारले भीडभाड नगरी भौतिक दूरी कायम गरे जात्रा पर्वको विधि पूरा गर्न आह्वान गरेको छ।