Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘आत्महत्याको बाटो रोज्नेमा पुरुष धेरै, प्रमुख कारण बेरोजगारी’

‘आत्महत्याको बाटो रोज्नेमा पुरुष धेरै, प्रमुख कारण बेरोजगारी’

  • मंगलवार, भाद्र ९ २०७७

  • 1.7K
    SHARES

  • ‘आत्महत्याको बाटो रोज्नेमा पुरुष धेरै, प्रमुख कारण बेरोजगारी’

     काठमाडौं । घटना गत जेठको हो । अछामको बयलपाटा अस्पतालमा कार्यरत कर्मचारी सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्महत्या (आत्मदाह) गरे । उनले करिब १२ दिनअघि मात्र जागिर गुमाएका थिए । कोरोना भाइरस महामारीलाई कारण देखाउँदै अस्पतालले उनलाई जागिरबाट निकालेको थियो । जागिर गुमाएपछि परिवार पाल्ने अरु विकल्प उनले देखेनन् । त्यसपछि सिद्धार्थले आत्मदाहको बाटो रोजे ।
    यो घटना त प्रतिनिधि पात्र मात्रै हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर ११ चैतदेखि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी)को समयमा आत्महत्या गर्नेको सूचि लामो छ ।

    यो अवधिमा पहिलेभन्दा धेरै आत्महत्याका घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

    ११ चैत देखि ४ साउनसम्मको चार महिनाभन्दा कम समयमा नेपालमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । विगत ५ महिनाको अवधिमा उपत्यकामा मात्रै १ सय ५९ जनाले आत्महत्या गरेका छन् ।

    लकडाउनको समयमा आत्महत्याका घटना बढी हुनुका अनेकौं कारण छन् । बेरोजगारी, प्रेममाधोका, लागुऔषध, परीक्षामा असफलता, जीवनमा निराशा, क्षणिक आवेग, दाइजो प्रथा तथा महिला हिंसा आदि कारण रहेको बताइन्छ ।

    तर, मुख्य कारण वेरोजगारी रहेको विज्ञहरु बताउँछन् । सिद्धार्थको आत्मदाहले केही हदसम्म यो पुष्टिसमेत गरेको छ ।

    मनोविद् सनम पौडेल पनि लकडाउनको अवधिमा आत्महत्याका घटना बढ्नुमा बेरोजकारीलाई नै प्रमुख कारण मान्नुहुन्छ ।

    ‘लकडाउनमा आत्महत्या बढ्नुको प्रमुख कारण बेरोजगारी समस्या नै हो । कोरोनाका कारण धेरैले रोजगारी र व्यवसाय गुमाएका छन्’, उहाँले नेपाली नेटवर्कसँग कुरा गर्दै भन्नुभयो, ‘यद्यपि, क्वारेन्टिनमा आत्महत्या गरेका खबर पनि आएका छन् । अहिलेको अवस्थामा मानिस आर्थिकसँगै सामाजिक रुपमा पनि कमजोर भएको छ । कोरोना लागेपछि सामाजिक बहिष्करणको सिकार पनि बन्नु परिहेको छ ।’

    झुण्डिएर आत्महत्या गर्ने धेरै

    दाङकोे तुलसीपुर उपमहानगरपालिका वडा नं. –५ रानीजरूवाकी एलिसा गौतमले १८ असारमा गरेको आत्महत्याले सबैलाई चकित बनायो । उनले अपनाएको आत्महत्याशैलीले सबैलाई सोच्न बाध्य बनायो । उनले फेसबुक लाइभ गर्दै घाँटीमा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

    दाङमा भएको घटनाको एक हप्ता पनि नबित्दै चितवनमा पनि त्यस्तै घटना दोहोरियो । घटना २० असारमा दोहोरिएको हो । भरतपुरको स्याउली बजारमा पौडेल थरकी एक १९ वर्षीय युवतीले फेसबुक लाइभ गरेरै आत्महत्या गरिन् ।

    प्रहरीको तथ्याड्ढमा नेपालमा सबैभन्दा धैरै झुन्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ । प्रविधिको विकाससँगै पछिल्लो समय यो फेसबुक लाइभसम्मको हदमा पुगेको छ ।

    प्रहरीका अनुसार ०७६-७७ मा झुन्डिएर मात्र ५ हजार ३९ जनाले आफ्नो प्राण त्याग गरेका छन् । विषसेवन गरेर ११ सय ४६ जना, आफ्नै शरीरमा आगो लगाएर १० जना र हातहतियारको प्रयोगबाट २२ जनाले आत्महत्या गरेका छन् ।

    त्यस्तै, हाम फालेर ३४, डुबेर २७ र करेन्ट लगाएर आत्महत्या गर्ने १ जना छन् ।

    आत्महत्या गर्ने तरिका आजकल फरक रहेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत बताउनुहुन्छ ।

    ‘पहिले झुन्डिएर, हाम फालेर र बिष सेवन गरेर आत्महत्या गरिन्थ्यो, उहाँले नेपाली नेटवर्कसँग भन्नुभयो, ‘आजकलका युवा त सामाजिक सञ्जालमा लाइभ भिडियो बनाएर आत्महत्या गर्न थालेका छन् ।’

    ४० सेकेण्डमा एकजनाले आत्महत्या

    विश्वभरमा ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको एक तथ्याड्ढले देखाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेकोको छैन । नेपाल आत्महत्या धेरै गर्ने देशको सूचिमा सातौँ स्थानमा रहेको छ ।

    आत्महत्या गर्नेमा पुरुष धेरै

    पछिल्लो समय ०७६-७७ को अवधिमा नेपालमा ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये, ३ हजार ४ सय १९ जना पुरुष छन् । त्यस्तै, २ हजार एक सय ९८ जना महिला र ६ सय ६२ जना बालबालिका रहेका छन् ।

    प्रदेश १ मा धेरै, कर्णालीमा कम

    पछिल्लो एक वर्षको अवधिमा प्रदेश –१ मा १३ सय ४१ जनाले आत्महत्याको बाटो रोजेका छन् भने प्रदेश ६ का सबैभन्दा कम मानिस २९० जनाले मात्र आत्महत्या गरेका छन् ।

    त्यस्तै, प्रदेश –२ मा ८ सय १० जना, बाग्मतीमा मा ९ सय ३५ जना, गण्डकीमा ५ सय ९४ प्रदेश ५ मा १२ सय ४ र प्रदेश ७ मा ५ सय ४७ ले आत्महत्याको बाटो रोजेका छन् ।

    के हो आत्महत्या ?

    सामान्यतया, आत्महत्या भन्नाले आफैंले आफैलाई मार्नु भन्ने बुझिन्छ । नेपालमा आत्महत्या गर्नु र यसको दुरुत्साहन गर्नुलाई जघन्य अपराध मानिन्छ । तर, पनि आत्महत्याका घटनामा कमी आएको छैन ।


    मंगलवार, भाद्र ९ २०७७०४:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij