Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दिलमाया सुनार मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट, हत्या भएको प्रहरी निष्कर्ष

दिलमाया सुनार मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट, हत्या भएको प्रहरी निष्कर्ष

  • आइतवार, श्रावण १ २०७९

  • 1.1K
    SHARES

  • दिलमाया सुनार मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट, हत्या भएको प्रहरी निष्कर्ष
    काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
     
    गायिका सुनारको मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी अनुसन्धान टुंग्याउनेतर्फ लागेको छ । 
     
    असार ११ गते गायिका सुनारको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । 
     
    असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन् । गायिका सुनार मृत भेटिएको सूचना पाए लगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो । सो क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए । 
     
    उनी पक्राउ परेसँगै मृतक गायिका सुनारका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गायिका सुनारले आत्महत्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण गरेको थियो । तर विस्तृत अनुसन्धानका क्रममा सुनारले आत्महत्या गरेको नभई उनको हत्या भएको निष्कर्ष निकालेर फाइल बुझाउन लागिएको स्रोतले जानकारी दियो । 
    झुन्डिएर आत्महत्या गरेको भनिएका सुनारको शव ओछ्यानमा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्ट्याटस लेख्नु, तर उक्त स्ट्याटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारले आत्महत्या गरेको नभई हत्या भएको प्रहरी निष्कर्ष छ । 
     
    ३० वर्षीय गायिका दिलमाया लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोक दोहोरी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।
     
     


    आइतवार, श्रावण १ २०७९०४:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij