काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिकाले साउन २० गतेसम्मका लागि विद्यालय बन्द गरेको छ ।
अत्याधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परेकोले विद्यालय बन्द गर्नुपरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गते शुक्रबारसम्म पनि गर्मी विदा दिएको थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरेर अत्याधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै साउन २० गते सम्मका लागि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।
शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे विदा उल्लेख भएपनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
वीरगञ्जमा ९० वटा सामुदायिक, १८० वटा जति संस्थागत विद्यालयमा गरी ७८ हजार भन्दा बढी विधार्थी अध्ययनरत छन् ।