काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने जनाएको छ ।
‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गर्न लागेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुने बताउनुभयो ।
यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उहाँले बताउनुभयो ।
बुधबारबाट सेवा सुरु हुने विषयमा आयोगले तयार पारेको विज्ञप्ति सुनाउँदै थपलियाले भन्नुभयो, “फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई सहजीकरण गर्दै अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले भोटर लिस्ट रजिस्ट्रेसन सिस्टम तयार गरी पाइलट सञ्चालनको रुपमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट यही बुधबारबाट सुरु गर्दैछ ।”
थपलियाका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा बुधबारबाट आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् । यद्यपि फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो ।
हालसम्म ‘बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम’ ९बीभीआरएस०मार्फत नामावली दर्ताको कार्य हुँदै आएको छ । उक्त प्रणालीलाई स्तरोन्नति गरी आयोगले अनलाइन प्रणालीमा लगेको हो । प्रमुख आयुक्त थपलियाले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने विश्वास व्यक्त गरे ।
“मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा त्यसको नम्बर उपलब्ध गराइनेछ,” उहाँले भन्नुभयो ।, “सोही नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछन् ।”