काठमाडौं । जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्।
शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताउनुभएको छ ।
उहाँकाअनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका-११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन्।
विषादी च्याउ खाएर घोराही-१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समीर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ।
बिरामीहरू सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।