काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । वर्षातले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकाले यसअघि थुप्रिएको फोहोर छोपिएको हो ।
यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून महानगरपालिकाले विश्वास लिएको छ ।
अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदै छ । आइतबार(आज) घाम लागेकाले त्यहाँ थुप्रिएको फोहोर घटाउने प्रयास गर्ने इन्जिनियर लम्साले बताउनुभयो ।
ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ ।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।