काठमाडौं । रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो। बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो ।
सो बस दुर्घटनामा ९ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय रामेछापका अनुसार १२ जनाको सनाखत भइसकेको छ । एक जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। त्यसमध्ये चार जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति-५ की २२ वर्षीया बिपना तामाङ र मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन् ।
यस्तै, सुनापाति-५ कै ३६ वर्षीया सञ्जु आले मगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ।उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो। एक जनाको भने सनाखत हुन बाँकी छ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। दोलखा घर हुने प्रेमबहादुर घतानी छन् । उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।