काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।
हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ वर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ ।
इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।
त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक-एक जनामा हैजा संक्रमण देखिएको छ ।
इडीसीडीका निर्देशक डा। चुमनलाल दासका अनुसार सोमबार दिउँसोसम्म एक जनामात्रै उपचाररत छन् । ‘हैजा संक्रमण पुष्टि भएको एक गर्भवती उपचाररत हुनुहुन्छ । अरु सबै अस्पतालबाट डिस्चार्ज भइसक्नुभयो’ डा. दासले भन्नुभयो ।
काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।
पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्माले काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको बताउँनुभयो ।
‘ललितपुरमा १८ ठाउँमा पानीको नमुना परीक्षण गर्दा १२ वटामा कोलिफर्म देखियो । कोलिफर्म देखिनुको मतलब पानीमा दिसामा हुने जिवाणु मिसिरहेको छ भन्ने हो’, डा. शर्माले भन्नुभयो ।
हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका दैनिक २५ भन्दा बढी बिरामी आइरहेका छन् । डा. शर्माका अनुसार काठमाडौंमा लामो समयसम्म नउठाइएको फोहोरका कारण हैजा फैलाउने जीवाणु पानीमा मिसिन पुगेका हुन् ।