काठमाडौं । आज असार १५ ! १९ औँ धान दिवस । आजै दहिचिउरा खाने दिनपनि । यतिबेला किसानले मानो छरेर मूरी उब्जाउने समयको सुरुवात । कृषिप्रधान देश नेपालमा हरेकवर्ष जस्तै किसानहरुले यसपाली पनि रोपाईं गरिरहेका छन् ।
असार १५ किसानका लागि निकै व्यस्त समय पनि हो । नेपालीहरुको विशेष खाद्यान्न अन्तर्गत पर्ने धानले सम्पूर्ण कृषि क्षेत्रले दिने २७ प्रतिशत योगदानमध्ये २० प्रतिशत धानेको छ । वैदिक कालदेखि नै धानको महिमा रही आएको छ । वेदमा समेत धानको बारेमा उल्लेख गरिएको धानविज्ञ डा. शम्भुप्रसाद खतिवडा बताउनुहुन्छ ।
हरेक वर्षजस्तै यसपाली पनि किसानका लागि उहीँ पीडा दोहोरियो समयमै मल नपाउनु । वर्षैपिच्छेको प्रमुख समस्यामा सरकार लाचार बनिदिँदा किसानले निकै सास्ती खेप्नुपरिरहेको छ । यसवर्ष त झनै मल चरीको दुध सरह बन्न पुग्यो ।
बाली राख्दा मल नपाउँदाको पीडा व्यहोरिरहेका किसानले रोपाईंको समयमा पनि पाएनन्, बाली फस्टाउँदै गर्दा के हो भन्न सकिन्न । यता सरकार भने असारको अन्तिमसम्म मल पर्याप्त हुने दाबी गरिरहेको छ । आज खुमलटारमा तामझामसहित मेसिनबाट धान रोप्न पुगेका कृषिमन्त्री महेन्द्र राय यादवले आफ्नो दाबीलाई दोहो¥याउनुभयो मल अवश्य पाइन्छ । १ लाख २० हजार बोरा आइसकेको छ ।
रोपाईं कार्यक्रममा मन्त्री यादवको अर्को रोचक अभिव्यक्ति थियो देशको मेरुदण्ड कृषि उत्पादनलाई उत्पादन र भण्डारणमा विशेष जोड दिने सरकारको योजना । जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बनेका यादवलाई उहाँको पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको छ । उहाँको योजना र तयारी अधुरै रहन्छ की भन्ने अर्को चिन्ता छ । तैपनी मन्त्री यादवले आफ्नो योजनालाई कृषिको सबलीकरण तर्फ उन्मुख गर्नुभएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा १९ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको धान तथा चामल आयात गरेको नेपालले २०७७÷०७८ मा ५० अर्ब बराबरको खरिद गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार चालु आर्थिक वर्षकै आठ–नौ महिनाको अवधिमा नेपालले ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।
सन् २०१९ मा प्रकाशित ’राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको शोधपत्रमा अनुमान गरिएअनुसार सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड २ लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्न सक्छ । आगामी दिनमा मुलुकमा मल उद्योग खोलेर हुन्छ या प्राङ्गारिक मलको व्यवस्थापन गरेर हुन्छ किसानको वर्षौको समस्या समाधान गर्नु सरकारका लागि चुनौती बनेको छ ।
यसैबीच, हिमाली जिल्ला र पडाही जिल्लाका अधिकांश जमिन बाँझो रहने र शहरमा घर बन्ने गरेकोले उत्पादनमा त ह्रास आएको छ नै, संस्कृति समेत लोप हुँदै गएको छ । असारमा गाइने यी भाका पनि ओझेलमा पदै गएका छन् ।