काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नेपाली लोक संगीतमा देखिएको विकृति विसंगतिविरुद्ध संस्थागत अपिल जारी गरेको छ ।
तिज नजिकिएसँगै वर्षेनि गीतसंगीतको नाममा विकृति विसंगति र अभद्र श्रव्यदृश्य सामग्रीमा श्रोताको गुनासो बढेको भन्दै चेतावनी सहितको अपिल जारी गरेको हो । साथै बर्सेनि आइरहने यस्तो गुनासाप्रति यसबर्ष विशेष ध्यानाकर्षण भएको प्रतिष्ठानले जनाएको छ ।
अपिलमा भनिएको छ,‘कतिपय गीत संगीतको नाममा देखिएको विकृति विसंगति, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक श्रोताको वर्षेनि गुनासो आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यानाकर्षण भएको छ ।, ‘तसर्थ सम्पूर्ण स्रष्टा सर्जक, गायक/गायिका, उत्पादन, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता, वितरकहरूमा सामाजिक सद्भावमा खल्ल पुर्याउने एवं नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत संगीग प्रस्तुत नगर्न नगराउनु हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौँ ।’
साथै संस्थागत अपिलको बेवास्ता गर्दै समाजमा अपाच्य हुने सिर्जना प्रस्तुत गरेको पाइएमा साधारण सदस्य लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाबाट वञ्चित गर्ने समेत चेतावनी दिएको छ ।