काठमाडौं । कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जना र चितवनमा एक जनाको मृत्यु भएको छ ।
वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा २ जनाको मृत्यु भएको छ भने बिहीबार चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा संक्रमणको पुष्टि भएको छ ।
पर्साको बहुदरमाइ नगरपालिका डकैलाका ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका उनलाई निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगिएको थियो ।
परीक्षणका क्रममा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा सारिएको थियो । उपचारका क्रममा आज किहान सबा ७ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
यसै अस्पतालमा थप एक संक्रमितको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौली गाउँका ५८ वर्षीय पुरुषको गय राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडा एक वृद्धमा पनि कोरोना पुष्टि भएको छ निमोनियाको समस्या देखिएपछि भदौ ३ गते भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना भएको उनको बिहीबार राति मृत्यु भएको थियो।
भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणपछि शुक्रबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।