काठमाडौं । काठमाडौँ उपत्यकासहित प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।
काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढिरहेको छ । यी नदी नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।