काठमाडौं । सरकारले पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका सूचना तथा सञ्चारप्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहेका डा. खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।
काठमाडौंमा आएपछि पनि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।
पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्नेछ ।
त्यस्तै, पिसिआर परीक्षण सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुने डा. खतिवडाको भनाइ छ ।