१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप–समिति गठन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागको खेल सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उप–समिति गठन गरेको हो ।
राखेप बोर्ड सदस्य गोविन्दबहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्नेछ । उपसमितिले ब्याडमिन्टन खेलका सामग्री खेलाडीहरुले समयमा नपाएको तथा प्राप्त खेल सामग्री गुणस्तरहीन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ ।
उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेसन अनुसारको स्टोर दाखिला नभएको तथा स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेकोलगायतका विषयमा छानबिन हुने बताउनुभयो ।